‘सरकारको अधिनायकवादी शैलीको अन्त्य कांग्रेसले गर्ने’

काठमाडौं, साउन ६ । सरकारको अधिनायकवादी शैली, जनताका आवश्यकता र मुल्यवृद्धिप्रति पुरा गर्ने कुरा बेवास्ता र समान जनसमुदायका विषयमा सरकार हल्का रुपमा प्रस्तुत भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले बताएका छन् ।

वि पि कोइरालाको ३६औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीद्वारा आयोजित कार्यक्रममा बोल्दै सरकारका गलत कदमको विरोधमा नेपाली कांग्रेस सशक्त रुपमा अगाडि बढ्ने उनले जानकारी गराए । पार्टी बलियो भयो भने व्यक्ति स्वतः बलियो हुने बताउँदै उनले भने– पार्टीका हरेक गतिविधिलाई सशक्त रुपमा अगाडि बढाउन नेपाली कांग्रेसका हरेक सदस्य तदारुकताका साथ अगाडि बढ्नुहोस् ।

नेपाली कांग्रेसका साधारण सदस्यलाई समेत लक्षित गर्दै कांग्रेसले आगामी दिनमा सक्रिय रुपमा काम गर्ने उनले प्रस्ट पारे । कांग्रेसले ल्याएको विधेयक सबैको विचारलाई समेटिएको बताउँदै उनले भने– डा केसीका कुरा, माथेमाका कुरा तमाम पार्टीका कुरालाई समेटेर ल्याएको विधेयकलाई अहिले ओली सरकारले अर्को विधयक किन ल्याउन खोज्यो ?

डा केसीका एजेण्डासँग कांग्रेस सहमत भएको प्रस्ट पार्दै उनले कम्यूनिष्टहरु संसारभरबाट असफल भइसकेको र नेपालमा पनि चाँडै नै कम्यूनिष्टहरु असफल हुने ठोकुवा गरे ।

वृद्धभत्ता शहर केन्द्रित नभएर गाउँ केन्द्रित हुनेपर्नेमा जोड दिँदै डा महतले भने शहरका जनता राम्रो खानपान र ऐस आरामको जिन्दगी विताइरहेकाले गाउँ गाउँमा बसेर कुटो कोदालो खन्दै दुखमा जिवन विताइरहेका व्यक्तिलाई लक्षित गरिनुपर्छ ।

जुन कुरा वाम गठबन्धनले चुनावका बेला उठाएको थियो त्यो कुरा अहिले एकीकृत सरकार बनेपछि सबै भुलेको छ उनले भने । गाउँका गरिव निमुखा जनताको सरदर आयु ६० देखि ६५ बर्ष भएको बताउँदै उनले ७० बर्ष उमेरपछि भत्ता बाड्ने सरकारको कदमलाई सच्याइ ६५ बर्षमै भत्ता दिनुपर्नेमा जोड दिएका छन् ।