उपत्यकाको फोहर उठाउन शुरु

काठमाडौँ, साउन ७ । काठमाडौं उपत्यकामा लामो समयसम्म फोहोर उठाउन नआउँदा अहिले उक्त फोहोर व्यवस्थापनमा समस्या भएको छ ।

करीब एक महिनादेखि थुप्रिएको फोहर अलि अलि गरेर उठाउन शुरु गरिएको छ । यसअघि नियमित रुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थान अभाव हुँदा फोहर उठाउनका लागि समस्या भएको थियो ।

सिसडोलमा व्यवस्थापन गर्ने स्थान मात्र समस्या नभएर बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापमा समस्या उत्पन्न भएको थियो । अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठाउन शुरु गरिएको हो । फोहरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो । काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रुपमा फोहर उठिरहेको बताए ।

भित्री केही गल्लीमा बाँकी भए पनि, बाहिरी मुख्य शहर सबै स्थानको फोहरको व्यवस्थापन भइसकेको छ । आगामी दिनमा नियमित फोहर व्यवस्थापन हुनेछ । नियमित रूपमा फोहर संकलनको काम शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न अनुरोध गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने बताएको छ ।

हरेक दिन कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । वर्षात्को समय छ, नियमित जसो पानी परिनै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी पर्याे भने पुनः फोहर व्यवस्थापनमा समस्या नआउँला भन्न सकिँदैन ढकालले भने ।

महानगरपालिकाले फोहर व्यवस्थापन स्थानको व्यवस्थापन, केन्द्र सरकारले गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीयको समस्या स्थानीय तहबाट नै समाधान गरिनुपर्ने विचार व्यक्त गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो ।

सम्झौता भन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले यस स्थानमा तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई अनुरोध गरेका छन् ।