काठमाडौँ, साउन ९ । काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।
नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले डा केसीले उठाएका माग पूरा गर्न काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्म अनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको बताए ।
कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्नुपरेको स्मरण गर्दै संविधान र लोकतन्त्र विपरीतका क्रियाकलापमा प्रेसले निर्बाध रुपमा कलम चलाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायतले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप असह्य हुने भन्दै एकपक्षीय रुपमा निर्माण हुने सञ्चार सम्बन्धी कानून मान्य नहुने विचार प्रस्तुत गरे ।