आवश्यक जनशक्ति अनुसार शिक्षण संस्था स्थापना गर्नुपर्नेमा जोड

काठमाडौँ, साउन ९ । मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आज प्रधानमन्त्री निवासमा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा बोल्दै उनले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ, त्यसै अनुसार शिक्षण संस्था स्थापना गर्नुपर्नेमा जोड दिए ।

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको उनले बताए । चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ, प्रधानमन्त्री ओलीले भने– अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्तिको अभाव छ त्यसै अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उनले जनाए ।

नेपाललाई लामो समय गरिब बनाएर खाना लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्याएको प्रधानमन्त्री ओलीले भने– तर अब त्यो अवस्था बाँकी रहेन, अब नेपालीहरु खान र लाउनबाट माथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तिमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।