सुर्खेत, साउन १० । कर्णाली प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विश्व लोभिने खालको बनाइने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
नेपाल पर्यटन पत्रकार संघ, कर्णाली प्रदेशले आज आयोजना गरेको “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले विश्वको नेपाल र नेपालको कर्णाली प्रदेशलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागि रहेको बताएका छन् ।
हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, बरु तिनको प्रचार हुन सकिरहेको छैन मुख्यमन्त्री शाहीले भने । अर्थतन्त्रको बलियो आधार पर्यटन भएको भन्दै उनले कर्णालीलाई हाइड्रो र कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिने र यसका लागि लगानी र इच्छा शक्तिको आवश्यक रहेको प्रस्ट पारे ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले राज्यको पर्यटन नीतिलाई आवश्यक सहयोग गर्दै विट पत्रकारिताको प्रारम्भ र त्यस विधामा विज्ञता हासिल गर्ने उद्देश्य लिएर संघ अगाडि बढेको बताए ।
कर्णालीको पर्यटनमा खोजरत युवा हरिहर न्यौपानेले कर्णालीको विद्यमान पर्यटन अवस्था, पर्यटकीय साइट, देखिएका समस्या, प्रदेश सरकारले लिएको नीति र गरिरहेको अभ्यास, यसको आगामी विकासबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गरे । न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा कर्णाली प्रदेशका १० जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक/सांस्कृतिक गरी तीन वर्गमा पर्यटकीय क्षेत्रको तथ्यांक राखिएको छ ।
नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिका अध्यक्ष अशोककुमार सिंहले पर्यटन क्षेत्रको विकासका लागि संघले प्रदेश सरकारको साझेदारको भूमिका निभाउने बताएका थिए ।
सो कार्यक्रमका सहभागीले कर्णाली कृषि, खेल, स्वास्थ्य, जल, साहसिकलगायतको विभिन्न मनोरञ्जनात्मक पर्यटन प्रवद्र्धनको भूमिका पर्यटन पत्रकार संघलाई खेल्न र त्यसको पूर्वाधार विकास गर्न प्रदेश सरकार जतिसक्दो चाँडो लाग्नुपर्ने सुझाव दिएका थिए ।