चितवन, असार २० । चितवनको रत्ननगर रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालयमा विद्यार्थीले निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयले सरकारले सातवटा प्रदेशमा स्थापना गर्ने भनेको आङ्गिक कलेज स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाए पछि विद्यार्थीले तालाबन्दी गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अखिल क्रान्तिकारीका अध्यक्ष विश्वास अम्गाईले बताए । विश्वविद्यालयले पहिलो चरणमा नवलपरासीको गैँडाकोटका दुईवटा, परासी, झापा, इटहरी, सप्तरी, सुर्खेत, टीकापुर र काठमाडौँका एक÷एकवटा निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपाल विद्यार्थी संघका अध्यक्ष शोभित खनालले बताए ।
विश्वविद्यालयका पदाधीकारी आर्थिक चलखेल गरी निजी कलेज सञ्चालनको तयारीमा लागेको खनालले आरोप लगाएका छन् । विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले तीन वर्ष अगाडिदेखि नै विज्ञापन खुलेको र अहिलेको प्रक्रिया नभएको बताए । उनले सरकारले मात्रै सबै काम गर्न नसक्ने भएकाले निजीमा जानुपर्ने बाध्यता रहेको औँल्याएका छन् । विश्वविद्यालय सभाबाट पारित भएर सातवटा आङ्गिक क्याम्पसको प्रक्रिया थालिएको तथा २३ वटा निजी कलेजलाई सम्बन्धन दिने प्रक्रियामा रहेको डा ढकालको भनाइ छ ।