पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्यामा वृद्धि

सोलुखुम्बु, साउन १० । अघिल्लो वर्षको तुलनामा सोलुखुम्बु जिल्लामा सम्बन्ध विच्छेद गर्नेको संख्यामा वृद्धि भएको छ । आव २०७३/७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४/७५ मा वृद्धि भई १८ वटा पगेका छन् ।

सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीको भनाइ छ ।

यस्तै आव २०७४/०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् । मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् ।

मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्यामा कमी आएको अदालतले बताएको छ ।

यसैगरी गाली बेज्जतिमा १० मुद्दा परेको र १० वटै फैसला भएका छन् । संगठित अपराधका मुद्दा चार वटा परेकामा दुई वटा फछ्र्योट भएका छन् ।  कर्तव्य ज्यान मुद्दामा चार मुद्दा परेको र चारवटै फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालतलाई ७५ प्रतिशत मुद्दा फैसला गर्न दिएको लक्ष्य अनुसार ७६ दशमलव ८२ प्रतिशत मुद्दाको फैसला भएको अदालतका नायब सुब्बा रसाइलीले बताएका छन् ।