केसीले उठाएका मुद्दालाई दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने : विवेकशील

काठमाडौँ, साउन १३ । डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने विवेकशील साझा पार्टीले बताएको छ ।

केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सडकमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगत रुपमा मात्र भाग लिएको उक्त पार्टीले जनाएको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं पार्टीको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले व्यक्तिगत हैसियतमा सहजीकरण गरेकामा त्यसबारे गलत सन्देश प्रवाह गरिएको दाबी गरे ।

उनले भने– वार्ता र सहमतिका लागि हाम्रो पार्टीको कुनै अडान थिएन, हामीले पार्टीको व्यानर लिएर सडकमा गएका पनि थिएनौँ । यस्ता विषयलाई राजनीतिक लाभका रुपमा कुनै पनि दलले उपयोग गर्नु हुँदैन ।

सरकार र डा केसीबीच गत बिहीबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने लगायत विभिन्न नौ बुँदे सहमतिपछि केसीले २७ औं दिनको अनसन तोडेका थिए ।