लहान, साउन १४ । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य परीक्षण गराएर लाभ लिएका छन् ।
कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा गरिएको सो शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिएका हुन् ।
शिविर जाँच गराएका विभिन्न रोगबाट प्रभावित स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै थप उपचारको लागि अस्पतालमा सिफारिससमेत गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका दिनेश चौधरीले बताएका छन् ।
उक्त शिविरको पूर्वसांसद डा सुबोध पोखरेल र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।
शिविरमा धरमपुरस्थित धर्मेश्वर अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ तथा जेनरल फिजिसिजनलगायतका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।