काठमाडौँ, साउन १४ । चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत नेपालको सामाजिक विकासका लागि सहयोग उपलब्ध गराउने भएको छ ।
मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्न समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले बताएको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मन्त्री थापा समाज कल्याण परिषद्का अध्यक्षसमेत हुन् ।
उक्त अवसरमा मन्त्री थापाले सो समझदारीबाट दुबै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने भन्दै दुई देशबीचको सदियौं देखिको पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
उपमन्त्री वाङले छिमेकी देश नेपालको विकास र नेपालीको प्रगतिमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।
यसैबीच चीन सरकारले काठमाडौँ महानगरपालिकालाई सडक सफा गर्न दुईवटा ग्लुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले बताएकी छिन् ।