काठमाडौँ, साउन १४ । २०७५ साल बैशाखदेखि अहिलेसम्म चार महिनामा विपद्का घटनाबाट मुलुकभर गरेर ४५५ जनाले ज्यान गुमाएका छन् ।
वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो ।
यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लाग्नुबाट १२, चट्याङबाट ४० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यले जानकारी गराएका छन् ।
मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला छन् । यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनुका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै, तीन हजार ७७५ घर प्रभावित, २०१ गोठमा क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार यो वर्ष विपद्बाट मात्र मुलुकमा रु एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको छ ।