सरकार, कर्मचारी समिकरण बाघ र मृगको मितेरी

– राजेन्द्र प्रसाद पाठक

नेपालको सन्दर्भमा पुर्खाले दिने गरेको आशीर्वाद अझै पनि हाम्रो समाजमा जीवितै छ । दशैं तिहार अथवा अन्य महाउत्सवहरुमा हामी हाम्रा पिता पुर्खाहरुबाट आशिर्वाद थाप्दछौं । त्यो हाम्रो सामुहिक संस्कृती हो । चाहे हामी जुनसुकै धर्म संस्कृतिका अनुयायी होऊँ हाम्रो आशीर्वाद लिने र दिने चलन यद्यपि जिवितै छ र कालान्तरसम्म जीवितै रहनेछ भन्नेमा शंका गरिरहनु नपर्ला ।

कुनै बेला हाम्रो समाजमा हाम्रा मान्यजनहरुले आशीर्वाद दिँदा सुब्बा भएस् । डिट्ठा भएस् । बिचारी भएस् भनेर ईश्वर साक्षी राखेर आशिर्वाद दिने चलनमा केही हेरफेर आएकै भएता पनि पदीय हैसियत र प्रतिष्ठामा फरक भयो होला तर चलन भने फेरिएको छैन । कुनै बखत तिनै सुब्बा, डिट्ठा, बिचारी आजका न्यायाधिस वा अन्य प्रसाशनिक भुमिकावालाहरु भन्दा कम थिएनन् । त्यसै कारण आफ्ना आफन्तजनहरु उच्च ओहदामा पुगुन भन्ने हाम्रा पिता पुर्खाहरुको मनोकांक्षा थियो । समय र राजनैतिक फेरवदलले कोल्टे फेरेता पनि हाम्रो त्यो हाकिम हुने र बनी सकेपछि देखापर्ने हाकिमी शैलीमा आजसम्म फेरबदल आएको छैन । हामी जनताको करले पालिएका छौं । हामीले जनताको र देशको सेवा गर्नु पर्दछ भन्ने चेतनाभन्दा कर्मचारीमा नितान्त ब्यक्तिवादी सोच र हाकिमी शैली परापुर्वकाल देखि हावी हुँदै आएकोमा दुईमत नरहला । यसो भन्दैमा सबै निजामती कर्मचारी यस्तै हुन भन्ने सोलोडोलो विश्लेषण गर्ने धृष्टता हो भन्ने कदापि नसोचियोस् । सबै क्षेत्रमा राम्रा नराम्रा, उज्यालो अँध्यारो, नकारात्मक र सकारात्मक पाटाहरु अवश्यमेव हुन्छन् नै । तर अधिकांशमा हुने मान्यता नै अन्तसम्म हावी भएको हुन्छ ।

हाम्रो देशमा धेरै राजनैतिक फेरवदल आई सकेको छ । नदीहरुले धेरै पानीहरु बगाई सके । किनाराका वालुवा र बगरहरु आगन्तुक र मनमौजी मनोरञ्जन गर्नेहरुको पर्खाइमा कुर्दा कुर्दै कंक्रिटको शहरमा परिणत भैसके । सिंगो देश र जनता फलेफुलेको हेर्न चाहने लाखौं लाख आत्माहरुले सायद चोला बदलिसके होलान् । तिनका आगामी पुस्ताहरुले पुर्खा जस्तै पर्खदा पर्खदा निरास हुनु भन्दा जोवन छँदै केही गर्ने र सके उतै घरजमसमेत गर्ने आकांक्षा लिएर पलायन भैसके । यता देशमा रहेर देश र जनता सामु उनकै तिरोभरो खाएर अलख्य भएकाहरुसमेत जागिरोप्रान्त बनीबनाउ भएको देश र शहरमा बसोवास गर्ने इच्छाले ओतप्रोत थिए र यद्यपि छँदैछन् । उनीहरुले आफु र आफन्तलाई मात्रै होईन देश र जनताको कसम खाएर समाज निर्माणका खातिर उभिएका नेतृत्वलाईसमेत उतै धकल्ने प्रपञ्चमा सहभागी गराउन सफल भएकै कारण आजसम्म देशले गति लिन सकेन र जनताले त्राण पाएका छैनन् भन्ने आमसमुदायको ठहर छ । यदि कर्मचारीतन्त्र मात्र सही भैदिएको भए राजनैतिक परिवर्तनले विकाश र संमृद्घीलाई स्थापीत गर्न सहज हुने थियो भन्नेहरुको संख्या अधिक छ । किन की कर्मचारी प्रशासन भनेको स्थाई सरकार र संयन्त्र पनि हो त्यसैले पनि यो खप्की खान बाध्य भएको हुन पर्दछ ।

नेपालको कर्मचारी संयन्त्रमा नितान्त व्यक्तिवादी चरित्र हावी छ भन्ने आरोपलाई पुष्टी गर्न तलका बुँदाहरु काफी छन् भन्नेहरुको कमी छैन ।

१, कर्मचारी युनियन हावी हुनु । कर्मचारीलाई पेशागत हकहितका लागी सहज होस भन्ने मानसिकताबाट विकसित भएको युनियनको अवधारणा नै आज कर्मचारीलाई स्वेच्छाचारी बन्ने औजार सावित भएको हो भन्ने निष्कर्ष आएको छ ।
२, सेवाभावको अभाव । सेवा भन्दा मेवा प्राप्तिका लागी मात्रै कर्मचारी तल्लिन भएका छन् भन्ने भनाई आज सावित हुँदैछ ।
३, हाकिमीतन्त्रबाट निर्देशित । जनताका लागि हाकिम हुँ भन्ने मानसिकता हावी भए सम्म उनीहरुबाट सेवा पाईंदैन । आलिसान कोठा कुर्सी, सहयोगी, टहल चाकरीवालाले सजिसजाऊ भएकाबाट सेवा पाईंदैन भन्ने निष्कर्ष निस्कीएको हो ।
४, चाकरी चाप्लुसीको मनोदशा । आफु भन्दा उच्चलाई चाकरी बजाउनेले आफु भन्दा कनिष्टबाटसमेत सोही खोज्दछन् ।
५, थप आम्दानीको खोजी । राज्यले प्रदान गरेको सुविधाबाट घरखर्च चल्दैन भन्नेहरु नै किन चार , पाँच बर्षसम्म लोकसेवा पढेर जाँचमा सम्मिलित हुन्छन् ? किन की उनीहरु सरकारी जागीरमा घुस खानकै लागी आएका हुन् भन्ने पुष्टी गर्दछ ।
६, नेतृत्वमा प्रसाशनिक अनविज्ञता । सरकारमा जाने मन्त्री, प्रधानमन्त्रीहरुलेसमेत नियुक्ति भैसके पछि पदिय दायित्व अनुरुपको ओरियन्टेशन तालिम लिनु पर्दछ । विकसित देशहरुमा यो खालको प्रचलन छ ।
७, ऐन, नियममा मात्रै अल्झिरहने मानशिकता । अतिरिक्त आम्दानी नआउने थाहा भए पछि कर्मचारीहरु ऐन नियम अघि सारेर हलो अड्काउने काम गर्दछन् भन्ने आम आरोप छ ।
८, कानुनी कमजोरीका लागि अनुपयुक्त शब्दावलीहरु जस्तै तर, पनि, अनि, अथवा, र, भएर, भएता पनि आदी शब्दावलीले श्रृजना गरेको कानुनी क्लिष्टताले समेत कर्मचारीलाई भाषामा खेल्ने अवसर जुटाएको छ भन्ने कानुन विज्ञहरु बताउँछन् ।
माथी उल्लेखित् अभ्यासहरु केवल हाकिमी शैलिकाले मात्र उपयोग गरेका होलान् । तर कतिपय कर्मचारीहरुको इमान्दारीताले नै मात्र आजसम्म देश र जनता थेगिएका हुन् भन्नेको पनि कमी छैन । त्यसैले बहुमत कर्मचारीहरुलाई उचित किसिमले तह लगाएर उचित सेवा सुविधा दिएर काममा खटाउन सकेको खण्डमा देश र जनतालेसमेत उपर्युक्त रिटर्न अथवा फलदायी हुन सक्ने कुरालाई समेत नकार्न सकिंदैन । कर्मचारीतन्त्रले नै आजका विकसित देशहरु सम्पन्न भएका हुन् । त्यसका लागि सरकारसमेत साझेदार बन्न तयार हुनु पर्दछ । यसका लागि परम्परागत शैलीबाट मुक्तिका उपाएहरु अपनाउनु जरुरी छ । ति यस प्रकार हुन सक्दछन् ।
१, पुराना कर्मचारीहरुलाई निशर्त अवकाश दिने । उनीहरु आधुनिक शैलीबाट प्रसाशन चलाउन अयोग्य भैसकेका हुन्छन् ।
२, हालको तलवमानबाट दोब्बर बनाउने । जब की कर्मचारीहरुलाई सामान्य अभावबाट पिल्सिन नपरोस् ।
३, भ्रष्ट्र«ाचारप्रति शुन्य सहनशीलता अपनाउने । यदि भ्रष्ट्र«ाचारी ठहर भएको खण्डमा आगामी तिनपुस्ता सम्मका लागि राष्ट्रको कुनै पनि खालको सेवामा अयोग्य ठहर हुने कानुन बनाउनु जरुरी छ । किन की यस्ता भ्रष्ट्राचारीहरुले पुस्तौं पुस्ताका लागि सम्पत्ती कमाएका हुन्छन् । सो खालको मानसिकताबाट बिमुख बनाउनका लागी मात्रै भएता पनि यस्ता खाले कानुन बनाउन जरुरी भैसकेको छ ।
४, स्थाई कर्मचारी भर्तीमा शुन्यता (सेना र प्रहरी बाहेक) । निजामती कर्मचारीको हकमा हायर एण्ड फायरको नियम अँगाल्नु पर्दछ । अन्यथा स्थाई कर्मचारीले सरकारले लाए अराएको काममा सहभागी हुन रुचाउँदैनन् । किन की उनिहरुको जागीर सरकारले सजिलै खान सक्दैन ।
५, कर्मचारी युनियनको अन्त्य । कलेक्टीभ बार्गेनिङ्ग गर्ने वैधानीक संस्थामा आबद्धता रहेसम्म कर्मचारीहरु सरकार र जनताप्रति बफादार रहँदैनन् । त्यसका लागि कर्मचारी युनियनको सदाका लागि अन्त्य हुनु पर्दछ ।

केही छुटफुट भएकाहरु बाहेक कर्मचारीलाई देश र जनताप्रति प्रतिबद्ध तुल्याउन सक्ने शुत्रहरु यिनै हुन् । यसलाई सरकारले तदारुकता साथ लागु गर्न गराउन सकेमा सरकार र कर्मचारी बीचको समन्वयता वृद्धि हुन गई सरकार सफल हुन सक्ने सम्भावना रहला । अन्यथा कर्मचारीलाई जुनसुकै उपाए लगाएर पनि सरकारले आफु अनुकुन हुने गरी सहज अवस्थामा ल्याउन सक्ने गुञ्जायस देखिंदैन । बाघ र मृग एउटै चरनमा चर्दैमा र एउटै जंगलमा रहँदैमा एक अर्काका मित्रशक्ति होइनन् । कर्मचारीतन्त्र भनेको स्थाई सरकार हो यसलाई जंगलको बाघसँग तुलना गर्न सकिन्छ । दलिय सरकार भनेको मृग वा हरिण भन्दा केही होइनन् । यिनी बवुराहरुलाई न त जंगलको ज्ञान हुन्छ ? न त मौसमको नै ? बाघलाई त्यतिबेला तह लगाउन सकिन्छ जतिबेला पिंजडा बलियो होस् । नत्र बाघसंग मृगको मितेरी मृत्युमा परिणत हुने नै हो । अस्तु !!