काठमाडौं, साउन १५ । प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध ७७ वटै जिल्लामा ‘वृहत् विरोध प्रदर्शन’ गर्ने भएको छ ।
विरोध प्रदर्शनको कार्यक्रम अन्तर्गत कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकाल्ने बताएको छ । सरकारले गरेका हरेका नराम्रा कामप्रति खबरदार िगर्दै आएको कांग्रेसले सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि सरकारविरुद्धको प्रदर्शन घोषणा गरेको हो ।
काठमाडौंको विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जनाएका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ७७ जिल्लामै विरोधसभा भएकाले मिलेसम्म केन्द्रीय नेताहरुलाई आफ्नै जिल्लको प्रदर्शनमा सहभागी हुन पार्टीले निर्देशन दिएको बताएका छन् ।
काठमाडौंमा दिउँसो साढे २ बजेदेखि शान्ति बाटिकाबाट प्रदर्शन सुरु भई भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै शान्ति बाटिकामै पुगेर कोणसभामा परिणत गरिने जनाइएको छ ।