श्रमिकको हकअधिकार सुरक्षित र व्यवस्थित गर्न पहल गर्ने : मन्त्री विष्ट

विराटनगर, साउन १५ । बैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि केही समय रोजगारीका लागि मेलेसिया जान रोक लगाइएको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।

उनले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृतिको सुधारका लागि मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारीका निम्ति मलेसिया पठाइने बताए ।

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या सुल्झाउनका लागि केही समय लाग्ने जनाउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले यस्तो योजना अगाडि बढाइएको बताए ।

उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको भन्दै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने प्रस्ट पारे ।

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा रोजगारीका निम्ति जाने गरेको भन्दै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले सक्दो पहत गर्ने जनाए ।