पछिल्लो समयमा चलचित्रमा राखिएका गीतहरुको रिलिजमा एक प्रकारको होड नै चल्ने गरेको छ । चलचित्र जस्तोसुकै बनोस् तर त्यसमा समावेश गरिएका गीतका कारण चलचित्र हेर्नको जागि दर्शकको ध्यान खिच्ने गरेको पनि पाइन्छ । जुनसुकै चलचित्रलाई सफल बनाउनका लागि त्यसमा समावेश गीतको भूकिका नै महत्वपूर्ण हुने गर्दछ ।
चलचित्र क्षेत्रमा तीज छेक र दशैं छेक चलचित्रमा समावेश गीत रिलिज गर्ने ठूलो होड नै चल्ने गरेको छ । हाल दुई साताको अन्तरालमा आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भएका छन् । साउन, भदौ र असोजमा चलचित्रको भेल आउने समय भएकाले निर्माताहरु अहिलेदेखि नै आफ्नो गीत उत्कृष्ट बनाउनका लागि तल्लिन देखिन्छन् । किनकी, गीत–संगीतकै कारणले पनि चलचित्रको व्यापारमा धेरै ठूलो भूमिका खेल्ने गर्दछ ।
गीत–संगीतमा दर्शकले देखाएको चासोले पनि कुन चलचित्र र कुन कलाकारले कस्तो प्रभाव पार्न सकेका छन् भनेर थाहा पाउन सकिन्छ । अहिले नायिका रेखा थापाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘मालिका’ को गीत ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक भएको २ साताभन्दा बढी भयो । यो गीतलाई अहिलेसम्म युटुबमा करिब ४ लाख २० हजार पटक हेरिएको छ ।
२ सातायता रिलिज भएका गीतमध्येमा यो निकै कम पटक हेरिएको गीत हो । यो गीत उत्कृष्ट नबन्नुका पछाडि नायिका रेखा थापाको घट्दो क्रेज, उनलाई युटुबमा कम खोजिनु भन्ने बुझिन्छ । हुनत, नायिका रेखा थापाले अरुका गीतलाई बुष्ट गरिएको तर आफ्नो गीतको भ्यूज अर्गानिक भएको बताएकी छिन् ।
त्यसैगरी ९ दिन अगाडि रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’ को शिर्ष गीत भने ट्युवमा राम्रो भ्यूज कमाउन सफल भएको छ । यो गीत १४ लाखभन्दा बढी पटक हेरिएको छ ।
यता, नायक आर्यन सिग्देलले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कायरा’को एक साता अगाडि रिलिज भएको ‘यो त माया हो’ बोलको गीतले साढे ६ लाखभन्दा बढी भ्यूज कमाएको छ । आर्यन र साम्राज्ञीको स्टारडमको अगाडि यो गीतको भ्यूज निकै कम मानिन्छ ।
एक महिनाभित्रै ट्रेलर र २ गीत सार्वजनिक भएकाले पनि यो गीतले आशातित भ्यूज नपाएको हुनसक्छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फिचरिङ गरिएको चलचित्र ‘उडायो हावाले’ बोलको गीतले सार्वजनिक भएको ८ दिनमा ११ लाखभन्दा बढी भ्यूज पाएको छ । यो गीतलाई दर्शकले मन पराउन थालेका छन् ।
त्यसैगरी सार्वजनिक भएको २४ घन्टामै ८ लाख बढी भ्यूज कमाउन सफल चलचित्र ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतले अहिले चलचित्र बजारमा हंगामा मच्चाइरहेको छ । यो गीतलाई २ दिन नवित्दै १२ लाखभन्दा बढी पटक हेरिएको छ ।
यसरी हेर्दा करिब २ सातामा रिलिज भएका ५ वटा चलचित्रको गीतसंगीतमा ‘छक्का पन्जा ३’ र ‘नाई नभन्नु ल ५’ का गीतसंगीत लामो रेशको घोडा बन्ने संकेत देखिएको छ । नायिका रेखा थापाको चलचित्र ‘मालिका’ कमजोर बन्दा ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’ को गीतले राम्रै दर्शक कमाइरहेका छन् ।
युटुबमा राम्रो भ्यूज आउँदैमा चलचित्रले हंगामा मच्चाउँछ भन्ने छैन । तर, यसले चलचित्र चल्ने वा नचल्ने भन्ने पनि एक प्रकारको माहोल भने बनाउँछ । माथि उल्लेख गरिएका ५ वटै चलचित्रले यो बर्ष नाफाको व्यापार गर्छन् भन्ने अनुमाग गरिएको छ ।