पोखरा, साउन १७ । नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज पोखरामा आयोजित ‘पत्रकार आचार संहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा पत्रकारिता पेशालाई व्यवस्थित र मर्यादित बनाउन आचार संहिताको पालना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
समाचार सम्प्रेषण गर्दा आचार संहिताको पालना नगरी पत्रकारिता जगतलाई कमजोर बनाएको भन्दै अन्तरक्रियाका वक्ताहरूले सत्य, तथ्य र विश्वसनीय समाचारले पेशालाई मर्यादित बनाउने उल्लेख गरे ।
नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले हतारोको पत्रकारिता फस्टाउँदै जानु र खोजी पत्रकारिता लोप हुदै जानु चुनौतीका रुपमा देखा परेको बताए ।
उनले पत्रकारिता क्षेत्रमा बढ्दै गएको अराजकताको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने पत्रकारहरू पक्ष वा विपक्षका नाममा अरूको गोटी बन्न नहुने उनको भनाइ छ ।
नेपाल प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले समाज रुपान्तरणका लागि राम्रा सूचना प्रवाह हुनु आवश्यक भएको भन्दै सञ्चारगृहले पनि पत्रकार आचार संहिताको कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताए ।
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले समाज, राष्ट्र र पेशा प्रतिको दायित्वलाई प्रत्येक सञ्चारकर्मीले बहन गर्नुपर्ने धारणा प्रस्तुत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, विज्ञ टीकाराम राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिना लगायतले पत्रकारिता पेशाको गरिमा र महत्व अभिवृद्धिका लागि आचार संहिताको कार्यान्वयन जरुरी रहेको विचार व्यक्त गरे ।