काठमाडौँ, साउन १७ । प्रतिनिधिसभामा स्थानीय तहले कर बढाइ जनतालाई दुःख दिएको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको बैठकको शून्य समयमा भाग लिएका सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका, संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै सांसद निरु पालमाथि आक्रमणको प्रयास भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
राजधानीको अस्तव्यस्त सडक सुधार्न र फोहर मैला व्यवस्थापन गर्ने कार्यक्रम अघि सार्नका लागि पनि उनीहरुले सुझाएका छन् ।
बैठकको शून्य समयमा सांसदहरु रगमती शाही, विमल नेपाली, यशोदाकुमारी सुवेदी, यज्ञबहादुर बोगटी, रामवीर मानन्धर, राजन केसी, भरतकुमार शाह, महेश बस्नेत, महेन्द्र कुमारी लिम्बू, मीना सुब्बा, यज्ञराज सुनुवार र रामबहादुर विष्टले भाग लिएका थिए ।