काँग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको हो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगित भएको बताइएको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

बैठकमा गृहमन्त्री थापाले प्रस्तुत गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो । काँग्रेस संसदीय दलको बैठक बसिरहेकाले उनीहरुकै आग्रहानुसार बैठक स्थगित गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

प्रतिपक्षी दल काँग्रेसले आफ्नो संसदीय दलको बैठक लामो समय जारी रहने भएकाले सभामुखसमक्ष आजका लागि बैठक स्थगित गरिदिनुप¥यो भनी आग्रह गरेको कुरा सभामुखले जानकारी गराए । प्रतिपक्षको आग्रहलाई स्वीकार गरेर बैठक स्थगित गरिएको उनले भने ।

बैठक चलाउने वा नचलाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले सत्तरुढ नेकपाका नेता नेम्वाङलगायतसँग संघीय संसद् भवनमै छलफल गरेका थिए । छलफलपछि सभामुख महराले बैठक स्थगित गर्ने निर्णय लिएका हुन् । संघीय संसद् सचिवालयका महासचिव भट्टराईले सूचनामार्फत बैठक स्थगित भएको जानकारी गराएका थिए ।

सभामुख महराले बिहीबारको बैठकमा आफूहरुलाई बोल्न नदिएको भन्दै काँग्रेसका सांसदले बैठक बहिष्कार गरेका थिए ।