काठमाडौँ, साउन १८ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी गराए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि समय माग गर्दा समय नपाएको भन्दै बैठक बहिष्कार गरेको थियो । संसदीय दलको बैठकपछि प्रमुख सचेतक खाँणले भने, मन्त्रीले वक्तव्य दिइसकेपछि सांसद्ले प्रश्न सोध्न पाउने र मन्त्रीले जवाफ दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ तर सभामुखले समय माग गर्दा पनि हामीलाई समय दिइएन ।
काँग्रेस संसदीय दलको बैठक लम्बिएपछि बैठकबाटै प्रमुख सचेतक खाँणले टेलिफोनमा सभामुख कृृष्णबहादुर महरालाई आजको प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको जानकारी गराएक थिए । सो जानकारीपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
काँग्रेसले सभामुखसँग थप छलफल गर्ने उनले जानकारी गराए । सभामुख सबैको साझा बन्नुपर्छ, सभामुखले सत्तापक्ष प्रतिपक्ष सबैलाई मिलाएर बैठक सञ्चालन गर्नुपर्छ, प्रमुख सचेतक खाँणले भने । बैठकमा काँग्रेसले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्ताव लैजाने सम्बन्धमा समेत छलफल भएको थियो ।
काँग्रेसले संविधानका मौलिक हक कार्यान्वयनका लागि समय सीमाभित्र बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल गरेको छ । काँग्रेस संसदीय दलको बैठक शनिबार अपराह्न २ बजे पुनःबस्ने जानकारी गराइएको छ ।