प्रतिनिधिसभा बैठकद्वारा पङ्गेनीको निधनप्रति शोकप्रस्ताव पारित

काठमाडौँ, साउन २० । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनप्रति प्रतिनिधिसभाको बैठकले शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक /प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहम् भूमिका निभाएका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए ।

पङ्गेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्दैछ ।