रोल्पा, साउन २० । पछिल्लो समय घरेलु हिंसामा वृद्धि हुँदै गएपछि सम्बन्ध विच्छेदको क्रम पनि बढ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि ३१ सम्बन्ध विच्छेदका लागि अदालतसम्म पुगेका थिए ।
प्रहरी कार्यालयमा उजुरी दिएर मिलापत्र हुन नसकेका ती मुद्दासहित सो वर्ष जिल्ला अदालत रोल्पामा एक सय ६९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जनाइएको छ । आव ०७३/७४ मा जिल्ला प्रहरी कार्यालयमा ८८ घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा नौ मुद्दा मात्रै सम्बन्ध विच्छेदका लागि अदालत गए ।
घरेलु हिंसाका घटनामा वृद्धि हुँदै जानथालेपछि त्यसको प्रभाव सम्बन्ध विच्छेदमा देखिएको छ । हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको सामाजिक अभियानकर्मीले बताएका छन् ।
स्थानीय तहमा गठन भएका न्यायिक समितिका कारण जिल्ला अदालतसम्म आउने देवानी मुद्दाको संख्या घटेपनि सम्बन्ध विच्छेदका मुद्दामा भने कमी आउन सकेको छैन । न्यायिक समितिले सम्बन्ध विच्छेद पूर्व मेलमिलापका लागि सहजीकरण गर्छ । तर पनि मुद्दा दर्ताको संख्या नघटेको जनाइएको छ ।
जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दामध्ये ५५ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालतको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष दर्ता भएका तीन सय २४ मुद्दामध्ये एक सय ६८ मुद्दा सम्बन्ध विच्छेदका भएका र ती मुद्दामा १३/१४ वर्षकै उमेरमा विवाह गर्ने अनि २०/२२ वर्ष पुगेपछि सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको मेलमिलापकर्ता तीर्था आचार्यले बताए ।
मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा खान लाउन नदिनेजस्ता कारणले सम्बन्ध विच्छेदको कदम चाल्न महिला बाध्य भएर यस्ता खालका घटना देखा पर्ने गरेको उनले बताए । वैदेशिक रोजगारी बढेसँगै परिवारमा भित्रिएको जीवनशैलीले पनि असर गरिरहेको छ ।
अंश लिएर सम्बन्ध विच्छेदको माग गर्दा दुबै पक्षको नाममा रहेको सम्पत्ती के कति छ खोजबिन गर्दा लामो समय लाग्ने भएकाले अंश नलिएर सम्बन्ध विच्छेद गर्ने गरेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको भनाइ छ ।
स्थानीय सरकारले घरेलु हिंसा न्यूनिकरणका विभिन्न कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दा समेत हिंसामा कमी नदेखिएको हो । प्रहरीले समेत सडक नाटक तथा विभिन्न प्रचारात्मक कार्यक्रम गरी घरेलु हिंसा न्यूनीकरणका अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
विगतमा घरेलु हिंसा भए पनि प्रहरीसम्म उजुरी गर्न आउनेको संख्या निकै कम हुने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालको भनाइ छ ।
प्रहरी तथा अन्य निकायले सञ्चालन गरेको चेतनामूलक कार्यक्रमका कारण पीडितले खुलेर उजुरी दिन थालेपछि संख्या बढ्न थालेको फुँयालले बताए ।