भक्तपुर, साउन २७ । पछिल्लो समय उपत्यकामा हुने जाम नियन्त्रणका लागि वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।
लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउनका लागि वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको हो । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रारम्भ गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत सो सडक खण्डमा चाप घटाउन लागिएको हो ।
सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले सो क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन शुरु गरिएको छ ।
कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएका अनियमितता नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको बस्नेतले बताए ।
उनले नयाँ सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला जडीबुटी सडकबाट चाहबिल जाने सवारी साधन सञ्चालन गराइने, ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टिकाथली तथा बालकुमारी सडक मर्मत सकिएलगत्तै दुईवटा बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको जानकारी गराएका छन् ।
रु ४३ करोडको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेकोे नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ ।
त्यस्तै मनोहरा नदीको दायाँबाँया २०/२० मिटर चौंडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई निर्देशन दिएका छन् । करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक चापको दीर्घकालीन उपाय भनेको कोटेश्वर जडीबुटी सुरुङ मार्ग नै रहेको प्रस्ट पारे ।
उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्र्याक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्यान प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको उनको भनाइ छ । अहिले कोटेश्वरसम्मको चाप न्यूनीकरणका लागि विकल्पको रुपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न रु १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म रु तीन करोड विनियोजन भएकामा काम सम्पन्न हुने चरणमा छ ।
मेलम्ची खानेपानीको ढल विछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो । सांसद बस्नेतले भक्तपुरमा सुरक्षित राजमार्ग निर्माण गर्न विशेष अभियान चलाइएको भन्दै उज्यालो राजमार्ग निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सौर्य बत्ती जडान गरिएको र बाँकी ठाउँमा पनि तुरुन्तै जडान गरिने बताए ।
त्यस्तै वागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि रू ९१ करोड विनियोजन भइ निर्माण कार्य पनि अगाडि बढिसकेको उनले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टले अहिले वैकल्पिक रुपमा पेप्सीकोलादेखि जडीबुडीसम्मको बाटो र जडीबुटीदेखि बालकुमारीसम्मको बाटोबाट सवारी साधन सञ्चालन गर्दा ७० प्रतिशत कोटेश्वरको सडक चाप घट्ने प्रस्ट पारे ।
विगत केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानबमोजिम दिउँसोको समयमा ट्रिपर सञ्चालनमा रोक लगाए पश्चात दुर्घटना कम भएको छ भन्दै उनले भने– हाम्रो यो निर्णयले केही व्यावसायीलाई त असर परेको होला तर सडक दुर्घटना न्यूनीकरण गर्न भने हामी सफल भएका छौं ।
मनोहरा करिडोर निर्माणको जिम्मा लिएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निमार्णको काम शुरु भइसकेकामा यहाँका सुकुम्वासी बस्ती तथा स्थानीय सरोकारवाला व्यक्तिले निर्माण कार्यमा अवरोध पुर्याएकाले समस्या आएको बताए ।