काठमाडौं साउन २८ । हिजोदेखि परेको अविरल बर्षका कारण जनजीवन प्रभावित हुनुका साथै दैनिकी कष्टकर बन्न पुगेको छ । हिजो बिहानैदेखि मोषम बदली भएको बुधबारसम्म देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ । सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमिटर पानी परेको जानकारी गराइएको छ । कुशुम र तल्लो तटीय क्षेत्रमा वर्षा हुने क्रम जारी रहेका त्यस क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
सप्तकोशीको चतारामा पनि कोसीको जलसतह खतराको विन्दुमा पुगेको छ । सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । त्यस्तै अरुण नदीमा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ । जुलाई र अगस्त महिना मौसम सक्रिय हुने भएकाले यो अवधिमा देशभरको मौसम पूर्ण बदली रहने र देशका धेरैजसो स्थानहरूमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो पूर्व र मध्यका थोरै स्थानमा तथा पश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने बताएको छ । त्यस्तै राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षा हुने जानकारी गराइएको छ । त्यस्तै मंगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने र पश्चिमी क्षेत्रमा भारि वर्षा हुने पूर्वानुमान शाखाको अनुमान रहेको छ ।
सोमबार बिहानसम्मको रेकर्ड अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ८७ मिलिमिटर वर्षा भएको जानकारी गराइएको छ । श्रावण ३० गते (बुधवार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा मध्यम खालको वर्षा हुने महाशाखाले बताएको छ । मौसमविद राजु प्रधाननाङगका अनुसार जुलाई र अगस्त महिना मनसुन सक्रिय हुने समय भएकाले गत दुई साता देखि नै वर्षा भइ्ररहेको प्रष्ट्याइएको छ ।