काठमाडौँ, साउन २९ । नेपाली खेलाडीले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै (आइसिसि) को बरियतामा परेका छन् ।
यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल समावेश भएका छन् ।
सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा परेका छन् । ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए ।
सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा पर्न सफल भएका हुन् ।