निर्मला पन्त हत्याको छानबिनका लागि सरकारी टोली महेन्द्रनगरतर्फ

कञ्चनपुर, भदौ ८ । महेन्द्रनगर, भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको आरोपमा नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै स्थानीयावासीले विरोध प्रदर्शन गरेपछि सरकारले गठन गरेको छानबिन समिति आज त्यसतर्फ पुगेको छ ।

सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहीबार गठन गरिएको पाँच सदस्यीय छानबिन समिति आज बिहान महेन्द्रनगर पुगेको हो ।

सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्नका लागि १५ दिनको म्याद दिइएको समितिले आजैबाट छानबिनको काम शुरु गर्ने संयोजक मैनालीले जनाए । सो समितिमा तीनै सुरक्षा निकायका एआइजीहरु, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक जना प्रतिनिधि छन् ।

केही दिनयता महेन्द्रनगरको स्थिति तनावपूर्ण बन्दै गइरहेको छ । स्थानीयको विरोध साम्य पार्नका लागि प्रहरीले हिजो कर्फ्युसमेत लगाएको थियो । बिहान पाँच बजेदेखि कर्फ्यु हटाइएको छ । कर्फ्यु हटेपछि शान्ति सुरक्षा रणनीति तय गर्न सुरक्षा निकायको बैठक जारी छ ।