एशियाली खेलकूद भलिबलमा नेपाल कोरियासँग भिड्दै

काठमाडौँ, भदौ ८ । इण्डोनेसियामा भइरहेको अठारौँ एशियाली खेलकूद अन्तर्गत पुरुष भलिबलमा आज नेपालले दक्षिण कोरियासँग भिड्ने भएको छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

यसअघि पहिलो खेलमा नेपालले चाइनिज ताइपेईसँग हार बेहोरेको थियो । एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्रले सहभागीता जनाएका छन् ।

एशियाली खेलकूदमा भलिबलमा नेपालले ३२ वर्षपछि सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो ।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, कुलबहादुर थापा, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन् । प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोञ्जे व्यलनभ र व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन् ।