बढी दुर्घटना चालकको लापर्वाहीकै कारण हुने

काठमाडौँ, भदौ १० । उपत्यकामा पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि हुँदै गइरहेको छ । यस्ता खालका दुर्घटना बढी चालकको लापर्वाहीका कारण हुने गरेको पाइन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारी अनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा बढी दुर्घटना चालकको लापर्वाहीकै कारणले हुने गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीका कारण मात्र पाँच हजार ९६१ दुर्घटना भएका छन् ।

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापर्वाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् । दुर्घटनामा परी २१९ जना गम्भीर र चार हजार ३३३ जना सामान्य घाइते भएका छन् ।

उपत्यकामा सवारी संख्या बढी भएको र चालकले संयमित भएर नचलाउनाले दुर्घटना हुने गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ । बाटो साँघूरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको हो– उनले भने ।

बाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । आव २०७४/७५ मा मात्र सवारी दुर्घटनाका कारण १९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधनको संख्या बढी रहेका छन् ।

आव २०७४/७५ मा दुर्घटनामा मरेका १९४ मध्ये १४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १११ को मृत्यु भएको छ ।