काठमाडौं, भदौ ११ । ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीहरुलाई सभामुख कृष्णबहादुर महराले बिदाई गरेका छन् ।
सभामुखको सरकारी निवास वालुवाटारमा आज बिहान एक कार्यक्रमको आयोजना गर्दै नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई उनले विदाई गरेका हुन् । टोलीलाई अबिर माला लगाएर विदाइ गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा कहलाउनका लागि खेलाडीहरुलाई अनुरोध गरे ।
उनले भने– तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ, उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरुले प्राप्त गरेको सफलता सिंगो देशकै सफलता हुनेछ ।
तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ । खेल क्षेत्र प्राप्त सफलताले नेपाललाई विश्वसामु चिनाउन सकिने भन्दै उनले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो ।
आज २ बजे दक्षिण कोरियातर्फ जाने टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी थिए ।