रथी थापालाई राष्ट्रपतिले प्रदान गरिन् महारथीको दर्ज्यानी चिन्ह

काठमाडौँ, भदौ २४ । कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिकी छिन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि खुवाएकी छिन् । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उपस्थिति जनाएका थिए ।

समारोहमा मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको उपस्थिति रहेको थियो । सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी प्रदा नगरेको थियो ।

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहालीसमेत गरेका छन् ।