अफगानिस्तानको प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

अफगानिस्तान, भदौ २५ । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान सो स्थानका सशस्त्र तालिबानहरुले एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको बताइएको छ । अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेको बताइएको छ ।

आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि मारिएको कुन्दुजका प्रहरी प्रमुखले जानकारी गराएका छन् । कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरु नजिकै रहेको उक्त प्रहरी चौकीमा सोमबार बिहानी पख तालिबानहरुले शक्तिशाली बन्दुक र रकेट लञ्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जानकारी गराएको बताएको छ ।

त्यस जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबानहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए । त्यसैगरी अफगानिस्तानको अर्काे प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो ।

कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । सो क्षेत्रमा तालिबानहरुको बढी नै प्रभाव रही आएको बताइएको छ । एएफपी