बनेपा, भदौ २६ । विकास र समृद्धि राष्ट्रको आवश्यकता रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । काभ्रेको बनेपामा जिल्ला सहकारी संघद्वारा आज आयोजित ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको कामले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
विकास र सृमद्धि भनेको नै सामाजवाद रहेको र यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्ने उनको भनाइ छ । उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई संकलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति र संघ/संस्थालाई सम्मान गरियो । गृहमन्त्री थापाले जिल्ला सहकारी संघले प्रकाशन गरेको सहकारी सम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क विमोचन गरे ।
गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाको सम्बन्धमा छानविन गरिरहेको जनाएका छन् ।
सोही अवसरमा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको भन्दै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको प्रस्ट पारे ।