काठमाडौँ, भदौ २९ । प्रहरीका छोराछोरीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रहरी आवासीय विद्यालय खोल्ने भएको छ ।
नेपाल प्रहरीले प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई शिक्षा प्रदान गर्नका लागि प्रदेशमा आवासीय विद्यालय खोल्न लागिएको हो । पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश संघीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।
जेठ २७ को मन्त्रिपरिषद्को बैठक अनुसार सबै प्रदेशमा प्रहरी विद्यालयको स्थापना गर्ने लक्ष्य अनुसार प्रदेश ३ को (भरतपुर) चितवन र प्रदेश ६ को (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेको उनले जनाएका छन् ।
प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ गरुढा (रौतहट), प्रदेश ४ बेलचौतारा (तनहुँ), प्रदेश ५ घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थी अध्ययनरत छन् । सबै प्रदेशमा माध्यमिक तहसम्म पढाइ हुनेछ ।
प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थपेपछि नौ वटा विद्यालय हुनेछन् । प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको छ ।
सबै प्रदेशमा विद्यालय खोलेसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयको भनाइ छ । हाल देशभर सात प्रहरी विद्यालयमा झण्डै छ हजार विद्यार्थी अध्ययनरत छन् ।