निर्मला हत्या प्रकरण छानबिनको अन्तिम चरणमा : गृहमन्त्री

काठमाडौं, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानबिनको अन्तिम चरणमा पुगेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नमा उनले जवाफ दिँदै जो सुकै अपराधी भए पनि उम्कन नदिने प्रतिबद्धतासमेत जनाए । सरकारले यस प्रकरण अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै उनले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।

छानबिन समितिमा रहेका सदस्यलाई पनि गृह मन्त्रालयले सुरक्षा दिने उनले जनाएका छन् । समितिका एक सदस्य वीरेन्द्र केसीले केही दिनअघि राजीनामा दिएका थिए ।

गृह मन्त्रालयले सुरक्षा दिने भनेपनि उनले राजीनामा फिर्ता लिएर छानबिन कार्यलाई निरन्तरता दिएको मन्त्री थापाले जानकारी गराएका छन् । निर्मला हत्या प्रकरणमा सरकारको छानबिन जारी रहेको र गम्भीरतापूर्वक छानबिन भइरहेको उनको भनाइ छ ।

‘सरकार छानबिनको अन्तिम चरणमा आइपुगेको जनाउँदै उनले भने–दोषीहरुमाथि कठोरतापूर्वक कारबाही होस् भन्नेमा गृह मन्त्रालय गम्भीर छ ।