निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौँ, असोज ८ । नेपाली कांग्रेसका पुराना तथा प्रभावशाली नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन सबै नेताहरुलाई आह्वान गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे ।

पार्टीभित्र हुकुमी प्रवृत्ति नचल्ने बताउँदै उनले भने, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ । मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्न सरकार र सरोकारवाला निकाय समयमा नै सजग हुनुपर्नेमा जोडदिए ।

दिनहँु घट्टे हत्या, हिंसा, बलत्कार जस्ता घटनाले हाम्रो देशमा सरकार छ की छैन भन्ने प्रश्न आम जनतामा पैदा भएको उनले बताए । सरकार यस्तै लाचार र निरिह हुने हो भने आफ्नो समाप्तिको दिन गन्ती सुरु गरे हुन्छ उनले भने ।