काठमाडौँ, असोज १० । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भए पनि केहीले स्थानीय स्वार्थ र राजनीतिक स्वार्थका आधारमा बहस चलाएको बताए ।
न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्ने र यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवाललाई सरकारले उचित सम्मान तथा सम्बोधन गर्ने मन्त्री बस्नेतको भनाइ छ ।
विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । झण्डै ४५ प्रतिशत वन क्षेत्र भएपनि काठको आयात हुनु विडम्बना भएको भन्दै मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाई निर्याततर्फको योजना अगाडि बढाएको जानकारी गराए ।
उनले वनको दिगो व्यवस्थापन, ढलापडा काठको प्रभावकारी उपयोग र निजी वनबाट उत्पादित काठको ओसारपसारमा कानूनी सहजता अपनाएर काठको आयात निरुत्साहित गर्ने बताए ।
बैठकमा वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालय र मातहातका निकायका गतिविधि एवं योजनाका बारेमा जनाउँदै प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण सँगसँगै गर्ने मन्त्रालयको नीति रहेको जनाए ।
समिति सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा भएको बैठकमा सांसदहरू शान्तिमाया तामाङ, सत्यनारायण शर्मा, शान्ता चौधरी, भूमी त्रिपाठी, सीतादेवी यादव, राधा ज्ञवाली, दलबहादुर रानालगायतले मन्त्रालयका कामकारवाहीका सम्बन्धमा जिज्ञासा राखेका थिए ।