‘नागरिकलाई साक्षर बनाउने अभियान अगाडि बढाउने योजना’

काठमाडौं, असोज ११ । आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्ने सरकारको लक्ष्य छ । सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका हुन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका भावी योजनाबारे जानकारी गराउने क्रममा बिहीबार उनले आगामी वर्षलाई साक्षर नेपाल अभियानको रुपमा अगाडि बढाउन लागेको जानकारी गराए । त्यसका लागि सरकारले आन्तरिक रुपमा छलफल गरिरहेको पनि उनको दावी छ ।

सरकारले यो वर्ष सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान चलाएको छ । अर्को वर्ष सबै नागरिकलाई साक्षर बनाउने अभियान अगाडि बढाउने योजना तयार गरिएको मन्त्री पोखरेलको भनाइ छ ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित गर्ने प्रतिवद्धता जनाए । उनले विगतमा गरिएका सहमति अनुसार अघि बढाउने भन्दै उक्त विधेयक पारित गर्न ढिलाई नगर्न समिति समक्ष अनुरोध गरेका छन् ।

आगामी शैक्षिक सत्रदेखि ऐनको रुपमा लागू गराउने उक्त विधेयक पारित गर्न अव संघीय संसदले पनि ढिलाई गर्न नहुने उनले बताएका छन् ।

बैठकमा समितिका सदस्यहरुले उक्त विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै संघीय संसदले पारित गर्ने विश्वास व्यक्त गरेका थिए ।