काठमाडौँ, १२ असोज । नेपालमा पछिल्लो समय महिला हिंसाका घटना दिनहुँ बढ्दै गइरहेका छन् । पछिल्लो एक तथ्याङ्क अनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना घटेका छन् ।
महिला पुनःस्थापना केन्द्र (ओरेक)द्वारा सार्वजनिक ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् ।
महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ भने ३५ जनामाथि कुटपिट, १८ जनालाई खानलाउन नदिने, विवाह दर्ता, जन्मदर्ता तथा नागरिकताजस्ता स्रोत सुविधाबाट बञ्चतीकरण गरिएको छ ।
त्यस्तै १७ जनामाथि गालीगलौज, धम्की, चरित्र हत्याका कारण मानसिक हिंसा भएको, १३ जनामाथि यौन दुव्र्यवहार र १२ महिलाको हत्या भएका तथ्याङ्क सङ्कलन गरिएको छ । हिंसा प्रभावित महिलामध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३१ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका किशोरी तथा बालिका २५ प्रतिशत छन् ।
यसैगरी २६ देखि ३५ उमेर समूहका २१ प्रतिशत, ३६ देखि ४५ उमेर समूहका नौ प्रतिशत र ४६ वर्षभन्दा माथिका र उमेर समूह नखुलेका महिला सात÷सात प्रतिशत हिंसाबाट प्रभावित भएको तथ्याङ्कमा समाटिएको छ ।
हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट, २१ प्रतिशत छिमेकीबाट र परिवारका सदस्यबाट २० प्रतिशत महिला हिंसा प्रभावित भएका छन् । यसबाहेक पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा छ जना महिला तथा किशोरीमाथि एसिडको आक्रमणमा परेका छन् ।
वैवाहिक वा प्रेम प्रस्ताव एवं जबर्जस्ती यौन सम्पर्क राख्न अस्वीकार गर्दा, दाइजोको मामिला वा अन्य सामान्य झगडा आदिमा महिलाको अनुहार नै बिगार्ने उद्देश्यका साथ एसिड प्रहार गरेको देखिन्छ ।