चौथो जितको चुनौतिमा नेपाल

काठमाडौँ, असोज २३ । नेपालले आज आइसिसी विश्व टी–२० क्रिकेट प्रतियोगीता अन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा भूटानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मक रूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्नका लागि कति पनि चुनौति देखिँदैन ।

जारी प्रतियोगितामा भूटानको प्रदर्शन फितलो रहेको छ । एक खेलमा जित हासिल गरेको भूटानले दुई खेलमा पराजिय भोगिसकेको छ । नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । भूटान तीन खेलबाट दुई अङ्कका साथ पाँचौ स्थानमा रहेको छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनुपरेको छैन ।

नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जित तथा एउटा खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो । नेपालले १२ वर्षपछि भूटानसँग भिड्न लागेको हो ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् भने मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट र व्यवस्थापकमा रमन शिवाकोटी छन् ।

छनोट प्रतियोगिता अन्तर्गत नेपालले बुधबार चीन र शुक्रबार अन्तिम खेल सिङ्गापुरसँग खेल्नेछ ।