कृषि बालीको विविधिकरण आवश्यक

काठमाडौँ, असोज २३ । कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकाप्रति सरोकारवाला निकायले जोड दिइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) द्वारा आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले सो धारणा व्यक्त गरेका हुन् ।

दक्षिण एशिया र दक्षिण पूर्वी एशिया क्षेत्रमा खाद्य सुरक्षा र कृषिको मुख्य चुनौती खडेरी भएको र यससँग जुझ्ने उपायका सम्बन्धमा भएका अनुसन्धानको बारेमा उनीहरुले प्रस्तुति गरेका थिए । कार्यक्रममा विज्ञहरुले सुख्खायाममा हुने खडेरीको समाधानका लागि पूर्वतयारी र सोही अनुसारको कृषि प्रणालीमा विविधीकरण गर्न सकिने बारेमा सुझाव समेत दिएका छन् । सम्मेलनमा खडेरीसँग जुध्न तत्कालीन र दीर्घकालीन समाधानको उपायका साथै पूर्व तयारीका बारेमा समेत विभिन्न सत्रमा छलफल भइरहेको इसिमोडको ‘सर्भिएर’ कार्यक्रमका संयोजक वीरेन्द्र बज्राचार्यले जानकारी गराए ।

सम्मेलन खडेरीबाट जुध्न वैज्ञानिक तरिकाले अध्ययन गर्ने र नीतिगत सरकारी निकायलाई सुझाव दिने उद्देश्यले आयोजना गरिएको जानकारी गराइएको थियोे । सम्मेलनमा अनुुसन्धानकर्ताले खडेरीको सामना गर्न अन्तरिक्षमा आधारित तथ्याङ्कको प्रयोग र उपयोगिताको आवश्यक रहेकामा जोड दिएका छन् । मुलकबीच आपसी सहयोग र समन्वयका बारेमा समेत छलफल भएको छ ।

यही असोज २२ देखि २४ सम्म चल्ने सम्मेलन मुख्य रुपमा यस क्षेत्रका सूचना सङ्कलन, आदानप्रदान र उपयोगमा लाभदायी हुने आयोजकले अपेक्षा राखेको छ । नासा, युएसआइडीलगायत निकायको सहयोगमा भएको सम्मेलनमा १५ देशका १०० भन्दा सम्बन्धित सरकारी अधिकारी, अनुसन्धानकर्ता, वैज्ञानिक, विश्वविद्यालयका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।