आजबाट ३१ गतेसम्मका लागि रुट परमिट खुला

काठमाडौँ, असोज २४ । नेपालीको महान् चाडवाड नजिकिएसँगै यातायात व्यवस्था विभागले यात्रुहरुको सेवालाई ध्यानमा राखेर आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुलाएको छ ।

चाडबाडको समयमा काठमाडौं बाहिरिने यात्रुको संख्या निकै हुने भएकाले त्यसलाई मध्यनजर गर्दै यातायात विभागले काठमाडौँ बाहिर जाने र आउने यात्रुको सेवाका लागि बुधबारदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुलाएको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुलाएसँगै सवारी चालकले यात्रुलाई सहजै रुपमा गन्तव्यमा पुर्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म ल्याउन तथा लैजानका लागि सहज हुने बताए ।

विभागले उक्त समयमा सामान बोकेर काठमाडौँ भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ ।

ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले बुधबारबाट असोज ३१ गतेसम्मका लागि नारायणघाटबाट काठमाडौँ आउने ठूला सवारी साधनलाई रोक लगाएको हो ।