काठमाडौँ, कात्तिक ९ । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याँदैछ ।
विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी गराएकी छिन् । उक्त ट्रफीलाई नेपालमा सोमबारसम्म राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पुर्याइनेछ ।
शुक्रबार अपराह्न ट्रफी नेपाल ल्याइएलगत्तै स्वयम्भू लगिने घिमिरेले जनाएकी छिन् । स्वयम्भूमा केही घण्टा प्रदर्शनीमा राखिनेछ । शनिबार बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।
ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु हो घिमिरेले भनिन््– पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तालसम्म ट्रफी पुर्याइन्छ । ट्रफी शनिबार बेलुकी पोखराबाट पुनःकाठमाडौँ ल्याइनेछ ।
त्यस्तै कात्तिक २८ गते ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ । चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले बताएकी छिन् । सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ ।
क्रिकेट समर्थक र सर्वसाधारणलाई समेत ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको उनले बताएकी छिन् ।
विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।
ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने बताइएको छ ।