पोखरा, कात्तिक ९ । आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक पर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिद्वारा आज आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताए ।
बिपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको भन्दै सहमहामन्त्री डा महतले कांग्रेसले त्यसलाई आत्मसात गर्न नसकेको प्रस्ट पारे । आर्थिक समृद्धिका लागि सरकार मात्र नभई निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै उनले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएको उल्लेख गरे ।
वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको नेता महतको आरोप थियो । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएकोप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनको उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने बताएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, डा विजन पन्तलगायतले आ–आफ्नो धारणा राखेका थिए ।