प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवा नियुक्त

काठमाडौं, श्रावण ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमूख स्वकीय सचिवको टुङ्गो लगाएका छन् । स्वकीय सचिवको भूमिका निर्वाह गर्दै आएका भानु देउवा प्रमुख स्वकीय सचिवमा नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारको तीव्र तयारीमा जुटेका प्रधानमन्त्री देउवाले सचिवालयलाई पनि विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले आजै विरेन्द्र थापालाई पनि स्वकीय सचिवको रुपमा नियुक्त गरेका छन् । यसअघि प्रधानमन्त्री देउवाले केशवराज जोशीलाई स्वकीय सचिव नियुक्त गरेका थिए । केहीदिन अघि गोविन्द परियार वरिष्ठ संचार विज्ञको रुपमा नियुक्त गरेका छन् भने परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराई नियुक्त भइसकेका छन् ।

प्रधानमन्त्री देउवाले सचिवालयमा अहिलेसम्म ५ जना नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सात जना मन्त्री राखेर मन्त्रिपरिषद् गठन गरेपनि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई निकै सकस भएको छ । आन्तरिक विवादका कारण पार्टी भित्र को कसलाई मन्त्री बनाउने भन्ने टङ्ग्याउन नसक्दा मन्त्रीपरिषद् गठन थप अन्योलमा परेको छ ।