पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइयो

इलाम, कात्तिक २९ । सिद्धिथुम्काका बासिन्दाहरुले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागेका छन् ।

विभिन्न खालका पर्यटकीय तथा धार्मिकस्थलहरु भएको भए पनि प्रचार प्रसार हुन नसकेकाले गुरुयोजना नै बनाएर उनीहरूले काम अघि बढाउन लागेका हुन् । हालै सकिएको ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ पछि गुरुयोजना निर्माण कार्यान्वयन गरिने महोत्सव आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले बताएका छन् ।

यस क्षेत्रमा रहेका १० पर्यटकीयस्थललाई आधार बनाएर योजना निर्माण गरिने भएको छ । गरागाईंले भने– प्रचार प्रसारका क्रममा यस क्षेत्रमा सडक निर्माण तथा विस्तारको कामदेखि पर्यटकीयस्थललाई आकर्षित बनाउने खालका काम गर्ने योजना ल्याउन लागेका हौं, बजेटको आकारचाहिँ केही ठूलो होला जस्तो छ । हामीले यसका लागि देउमाई नगरपालिका र प्रदेश नं १ सरकारसँग समेत कुरा गरिसकेका छौँ ।

सूर्योदयको सजिलै अवलोकन गर्न सकिने सिद्धिथुम्काका साथै यहाँ सिद्धिदेवीस्थान, खान्द्रुङ गुफा, गुफाभित्र रहेका ५० मिटरभन्दा बढी लम्बाइका पाँच सुरुङहरू, अजम्बरे डाँडा, देवीथुम्का डाँडा, ५० मिटरजति अग्लो दुईतले पङेलुङ झरना, पाल्सेम डुब्लिङ गुम्बा, किराँतेश्वर शिवालय मन्दिरलगायतका धार्मिक स्थल तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

यस क्षेत्रमा गएको कात्तिक २५ गतेदेखि २७ गतेसम्म ‘आन्तरिक पर्यटनमा जुटौँ, समृद्ध सिद्धिथुम्का निर्माण गरौँ’ भन्ने मूल नाराका साथ ‘सिद्धिथुम्का पर्यटन महोत्सव’ गरियो ।

जिल्लाको देउमाई नगरपालिका–७, साविक सिद्धिथुम्कामा गएको कात्तिक २५ गतेबाट थालिएको महोत्सवमा तीनै दिन फरक फरक खालका कार्यक्रम गरिएको थियो ।

महोत्सव आयोजक समितिका अध्यक्ष गुरागाईले महोत्सवमा स्थानीयस्तरका सांस्कृतिक रहनसहन, जातीय झाँकी तथा स्थानीय खानाकोसमेत प्रदर्शन गरिएको बताए ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ वि.सं २०६५ देखि गर्दै आइएको र महोत्सवमा करीब रु २० लाखको कारोबार भएको र बाह्य र आन्तरिक गरी दुई हजार ५०० पर्यटकले महोत्वसव अबलोकन गर्नाका साथै पर्यटकीय क्षेत्रको अवलोकन गरेको पनि उनले जनाएका छन् ।