राजधानीमा आजबाट कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको बैठक सुरु

काठमाडौँ, कात्तिक २९ । राजधानीमा आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठक सुरु भएको छ ।

कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको काठमाडौंको होटल सोल्टीमा विहिबार सुरु भएको पाँचौ बैठकले भोली हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ ।

आप्रवासी कामदारको हक हित र सुरक्षाका लागि महत्वपुर्ण भूमिका निभाउँदै आएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठकले आप्रवासी श्रमिकका मानवअधिकार, सुरक्षा सुनिश्चितता लगायत अवसर चुनौतिका बारेमा समुहगत छलफल गरि निष्कर्ष सहितको प्रतिवेदन तयार पार्ने छ ।

उच्च अधिकारीहरुको पाँचौ बैठकको अध्यक्ष राष्ट्रका हैसियतले श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका छन् । सो बैठकमा बोल्दै उनले कोलम्बो प्रोसेसले आप्रवासी श्रमिकका चुनौतिको सम्बोधन गर्न आवश्यक रणनीति, साझेदारी र सामुहिक प्रयासको सहजीकरण गर्न महत्वपूर्ण अवसर मिल्ने बताए ।

पछिल्लो समय कोलम्बो प्रोसेस श्रम आप्रवासन, श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुक दुवैको विकासका लागि महत्वपुर्ण माध्यम बनेको छ । आप्रवासी श्रमीकका क्षेत्रमा देखिएका समस्या सुल्झाउनका लागि कोलम्बो प्रोसेसले महत्वपुर्ण भुमिका निभाउने मन्त्री विष्टले विश्वास व्यक्त गरे ।

बिहीबारको बैठकमा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका कन्सुलर सहायता, आप्रवासन सम्बन्धी दीगो विकासको लक्ष्य कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ तथा महिला आप्रवासी कामदारको समानताको प्रर्वद्धनका विषयमा छलफल गरि साझा चुनौतिका रुपमा रहेका विषयहरुमा सामुहिक र प्रभावकारी प्रयत्नका लागि काठमाडांै घोषणा पत्र तयार पार्ने छ ।

आप्रवासी कामदारको हितका लागि तयार पारिएको काठमाडौं घोषणा पत्रलाई भोली बस्ने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रको मन्त्रीस्तरीय परामर्श बैठकले अनुमोदन गरि जारी गर्ने भएको छ ।

कोलम्बो प्रोसेस बैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो ।