मङ्सिर २२ गतेदेखि हुने इपिएललाई आइसिसीको मान्यता

काठमाडौँ, कात्तिक ३० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आइसिसीको मान्यता दिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै इपिएलको आयोजकले प्रतियोगितालाई आइसिसीले मान्यता दिएको बताएको हो । प्रतियोगिताले आइसिसीको मान्यता प्राप्त गरेवापत आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर बुझाएको छ ।

अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएको इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको छ । लिग विशेषगरी नेपाली क्रिकेट र नेपाली खेलाडीको हितमा रहेको आइसिसीलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ । इपिएलले पठाएको सो रकम आइसिसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने विज्ञप्तिमा बताएको छ ।

अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आइसिसीको मान्यता लिनुपर्ने व्यवस्था रहेको छ ।

इपिएलले गत वर्षदेखि आइसिसीको मान्यता लिएर प्रतियोगिता गराएको थियो । यस्तै आइसिसीको मान्यता पाएपछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुल्ला भएको छ । इपिएलमा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । आयोजकले गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय गरेको थियो ।

इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।