धनुषा, साउन ५ । जनकपुर अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापर्बाहीले गर्दा आज एक बालकको मृत्यु हुन पुगेको छ । धनुषा जिल्लाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको चरम लापर्बाहीका कारण मृत्यु हुन गएको आफन्तहरुले आरोप लगाएका छन् ।
एक्कासि ज्वरोले बालकलाई सताएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लैजादा चिकित्सकले सामान्य चेक गरेपनि भर्नाका लागि श्यया खाली नभएको भन्दै घर फिर्ता पठाएका थिए तर बालकलाई फेरी ज्वरोले ग्रस्त बनाउँदै गएपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अकास्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।
राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटकपटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताएका छन् । खातुनका अनुसार नर्सहरु मोबाइलमा ध्यान केन्द्रित गरेर बसेका कारण अटेरी गरेका थिए । त्यसबेला डिउटीमा रहेका डा वैद्यनाथ ठाकुर भने कोठामा आराम गरेको नर्सले बताएका थिए । राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैँले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ तर नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताएकी छिन् ।
आज बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर दुई घण्टापछि छोडेको थियो । अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको बताएको छ ।