नयाँ प्रविधिको विकासले किसान खेतीतर्फ आकर्षित

राँझा, मंसिर १० । समय परिवर्तनसँग कृषि क्षेत्रमा पनि नयाँ नयाँ प्रविधि भित्रिँदै गइरको छ । कृषि क्षेत्रमा पछिल्लो समय प्रविधिको विकासमा किसानहरु खेतीतर्फ आकर्षित बन्दै गइरहेका छन् ।

यस्ता खालका प्रविधिको विकासले समयको सदुपयोग हुने भएकाले किसानहरु त्यसतर्फ आकर्षित बन्दै गएका हुन् । अहिले बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न शुरु गरेका हुन् । यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रले बताए ।

डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत हुने बताए । कामदार पाउन कठिन भएको बेला नयाँ प्रविधिको कारण खेती गर्न सहज भएको उनको भनाइ छ ।

उनले गत वर्ष १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाएको जनाएका छन् । मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको संख्यामा वृद्धि हुँदै गएको उनले बताएका छन् ।

जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका छन् । जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको संख्यामा वृद्धि हुँदै जान थालेको छ ।