एपीएफ टोलीद्वारा मोटरपार्टस बरामद

सुनसरी, मंसिर १० । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ३ स्थित पार्चासिमराबाट मंसीर ८ गते एपीएफ टोलीले को. १ त ५३१६ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याउँदै गरेको नयाँ तथा पुराना मोर्टरपाटर््स बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरपाटर््स सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद मोटरपाटर््स आवश्यक कारवाहीको लागि सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ । उक्त मोटरपार्ट्स तथा ट्रयाक्टरको भन्सार दाखिला मुल्य करीव ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले करीव १ लाख २० हजार रुपैयाँ बराबरको मरिच बरामद गरेको छ ।

नेपालबाट चोरीनिकासी भारततर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको १ सय के.जी. मरिच एपीएफ टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका ६ बाट मंसीर ९ गते बरामद गरेको हो ।

लागूऔषधसहित पक्राउ 

नवलपरासी जिल्लाको बिनयत्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट मंसीर ९ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले करीव २९ वटा स्पास्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

सोही जिल्लाको पश्चिम बर्दघाट नगरपालिका १२ बस्ने २१ वर्षिय सरोज भण्डारीलाई सशस्त्र प्रहरी बल नेपला अस्थाई सुरक्षा पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज भण्डारीलाई संका लागि जाँच गर्दा उनको साथमा उक्त परिणामको लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका भण्डारीलाई आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित ईलाका प्रहरी कार्यालय त्रिवेणीमा बुझाइएको छ ।