इटहरी, मंसिर ११ । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही कठिन हुने भएकाले हामी सबैले स्वीकार गर्नुपर्ने– प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले भने ।
आज प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा इटहरीमा आयोजित तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही फरक भएको भए पनि क्रमशः त्यो हट्दै जाने विश्वास व्यक्त गरे ।
मन्त्री धिमिरेले भने– देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार त हामीले तयार गर्यौं तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ, अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबैले सक्रियता देखाउनुपर्छ ।
उनले संघीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए । आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या हटाउनका लागि सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।
मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरे ।
यसैगरी कवि एवं साहित्यकार डा बद्रीविशाल पोख्रेलले आफ्ना स्व. माता हरिमाया पोख्रेलको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट यो वर्ष भागवत वाचक पण्डित उमानाथ घिमिरेलाई प्रदान गर्ने भएको छ ।
पण्डित बद्रीविशाल पोख्रेलले विष्णुहरि घनश्याम प्रतिष्ठानको स्थापनासँगै रु ११ हजार नगद राशिको सो पुरस्कार उनलाई प्रदान गरिने निर्णय गरेको प्रतिष्ठानले जानकारी गराएको छ ।